नेपाली काँग्रेस मकवानपुरका सभापतिलाई खुल्ला पत्र
नेपाली काँग्रेस मकवानपुर प्रतिनिधसभा क्षेत्र नम्बर २ का सदस्य राममणि न्यौपानेले काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई खुल्ला पत्र पठाएका छन् । युवा नेता एवम् मकवानपुर प्रतिनिधसभा क्षेत्र नम्बर २ का सदस्य न्यौपानेले पठाएको खुल्ला पत्र यस प्रकार छ ।
सम्माननीय बुद्ध लामा ज्यु,
सभापति
नेपाली काँग्रेस मकवानपुर ।
जय नेपाल ।
महोदय,
सभापति ज्यु,
आज यसै सामाजिक सञ्जालको माध्यमबाट हजुर समक्ष मकवनपुरको समसामायीक राजनीतिक घटनाक्रमलाई लिएर खुल्ला पत्र लेख्न र केही प्रश्नहरू राख्न गइरहेको छु ।
मुलुक सबैलाई प्यारो लाग्छ, मुलुक रहे हामी रहन्छौँ, जनता सर्वमान्य हुन्छन् । यी वाक्यान्सहरु पटक–पटक हजुरका मुखारबिन्दुबाट सुन्न पाइएको छ । हामीलाई तपाईँप्रति आशा र भरोसा छ, त्यो पनि हजुर नेपालको प्रजातान्त्रिक बिचारबाट अघि बढेको बीपीको समाजवादी चिन्तन बोकेको जनताको पार्टी नेपाली काँग्रेसको सभापति जस्तो गरिमामय पदमा हुनुहुन्छ । वर्तमान नेपाली राजनीति सङ्कटतिर केही प्रश्नहरू हजुर समक्ष राख्दैछु ।
सम्माननीय सभापति ज्यु, मैले राजनीति सुरु गरेको २०६३ साल बालजीवन ज्योती माविमा कक्षा ९ पढ्दा नेवि संघको अध्यक्षको भूमिका निर्वाह गरेको थिएँ । २०६८ आफ्नो वडामा तरुण दलको अहम भूमिका निर्वाह गरेको थिएँ । सक्रिय राजनीतिमा होमिसकेको म कांग्रेसी साथीभाई लगायत आम जनसमुदायको सहयोगमा २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष जिताउन र पालिकाको आफ्नो उम्मेदवारलाई सम्मानजनक भोट दिलाउन अहम भूमिका निर्वाह गरेँ ।
मेरो दाइ चतुर्भुज न्यौपाने २०६२/०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै देशमा गणतन्त्र ल्याउन योगदान गर्नुभयो । तत्कालीन समयमा ७ घर काँगे्रस भनेर चिनिने हाल मनहरी गाउँपालिका–१ चकरी/मकरीलाई काँग्रेसमय बनाउनु भयो । मेरो बुवा लक्ष्मीप्रसाद न्यौपाने २०१७ सालको राज सत्ताको ‘कू’ विरुद्धको आन्दोलनमा किशोर अवस्था हुँदा बखतदेखि लड्नु भो, निरन्तर नेपाली कांग्रेको राजनीतिमा सक्रिय हुँदै २०४६ पाञ्चयत विरुद्धको आन्दोलनमा सक्रिय रुपमा होमिनु भयो । हजुरबूवा २००७ सालमा राणाविरुद्ध नुवाकोटबाट लड़नु भएको भनेर अहिले पनि बुवा मलाई सुनाउनु हुन्छ । म काँग्रेस हुनुमा गर्व गर्छु, किन भन्दा काँग्रेस नै देशको परिवर्तनकारी नेतृत्वको महत्वपूर्ण भूमिकामा रह्यो र जनताले पटक–पटक काँग्रेसलाई विश्वास गरेर सरकारको नेतृत्व पनि सुम्पे जसमा तपाईँ पटक–पटक यस जिल्लाको नेतृत्वमा रहँदा तपाईबाट केही राम्रा कामहरू भए भने केही निकै सङ्कट निम्ताउने कामहरू पनि भए । जस्तै, नेपाली काँग्रेसको टिकट दिलाउने विषयदेखि संगठन विस्तारको क्रममा चुक्नुभयो जसको कारण अघिल्लो निर्वाचमा काँग्रेस मकवानपुरले ठूलो घाटा व्यहोर्नु पर्याे । त्यति मात्र काहाँ हो र, नेपाली काँग्रेस फुट्दा तपाईको यस जिल्लामा महत्वपूर्ण भूमिका देखिन्छ । त्यतिखेर सच्चा कार्यकर्ताको मन छिया–छिया भएको थियो, तर पनि ११औं अधिवेशनमा तपाईको वापसीले फेरि काँग्रेसजनमा उत्साह छायो ।
हालै सम्पन्न १४औं जिल्ला अधिवेशनमा तपाई पार्टी सभापति बन्नु भएपछि हामी कार्यकर्तामा आशा र निराशा दुवैले जन्म लियो । पूर्व सभापति इन्द्रबहादुर बानियाँले कम्युनिस्टहरुको लालकिल्ला तोड़्न सफल हुनुभयो । गलत नीतिका कारण यस जिल्लालाई निकास दिन नेपाली काँग्रेस साथै इन्द्र बानियाँ निकै लचिलो बनेको देखिन्छ । हिजोका दिनमा पनि वडा, पालिकाको राजनीतिमा जिल्लाको हस्तक्षेप हुँदै आएको देखिन्छ ।
सभापति ज्यु, के यी विषयहरूमा राजनीतिक हस्तक्षेप उचित थियो ? की कांग्रेसलाई व्यक्तिमुखी पार्टी बनाउन खोजिएको हो ? सभापति ज्यु यो विषयमा तपाईमाथि पनि गम्भीर प्रश्नहरू तेर्सिएका छन् । अहिले यस जिल्लामा वडादेखि नै सम्भाबना बोकेका राम्रा छवि भएको व्यक्तिलाई पछि पार्दै पार्टीभित्र गलत व्यक्तिको हाबी हुन् दिएको, पैसा सबथोक हो ? आम कार्यकर्ताको मनमा नेपाली काँग्रेसको राजनीति पैसाको राजनीति भन्न सुरु गरिसके । के पैसा मात्र सबथोक हो र ? के यो जिल्लामा निष्ठाको राजनीति मरेको हो र ? पैसा भएको व्यत्तिले भाडतन्त्र मच्चाउने कार्य भएको छ ।
जातीय विचलन ल्याएर जिल्लामा साम्प्रदायीक द्वन्द्व भड्काउँने काम भएको छ । के क्षमताको आधारमा नेतृत्व चुन्न सकिँदैन र ? यस जिल्लामा को आफ्नो ? को नजिकको ? को मेरो फेबरको ? अनि कसले खर्च गर्न सक्छ ? कस्ले घर घरमा कोसेली बोक्छ ? कसले आफ्नो सामु झुक्छ, भनेको मान्छ ? त्यस्तो व्यक्ति पार्टीभित्र हाबी भएको देखिन्छ । के हामी कार्यकर्तालाई बीपीले यही पाठ सिकाउनु भएको थियो त ?
सभापति ज्यु,
यस जिल्लामा कार्यकर्ता जनता मालिक हुन र तपाईहरु जनता र कार्यकर्ताको सेवक हो । जन नायक बीपीले भन्नुभएको छ, देशको नीति र कानून बनाउँदा गाउँमा रहने कृषक मजदुर र बौद्धिक समाजको विचार महत्वपूर्ण हुन्छ तर सभापति ज्यु तपाईँहरूमा अलिकति पनि बीपीको बिचार देखिएन । किन तपाईँहरू बीपीको बिचारभन्दा फरक बिचार राख्नुहुन्छ । आज कार्यकर्ताहरू अन्योलमा छन् । कार्यकर्ता भन्छन् हामी मिलेर बसेका छौ चाहे दलित, मधेसी, जनजाति होस् या ब्राह्मण÷क्षेत्री हामीमा एकता विश्वास र शान्ति छ, हामीलाई आपसमा लडाएर तपाईहरुले के पाउनुहुन्छ, आम कार्यकर्ताको आवज हो । हामी नेपाली कांग्रेसको कार्यकर्ता लोकतान्त्रिक पद्धतिलाई आत्मासाथ गर्ने मान्छे ।
सभापति ज्यु,
तपाईहरू जिल्लाको राजनीतिज्ञ गर्नुहुन्छ हामी टोल–टोलको सङगठन बिस्तार अनि वडा–वडामा कार्यकर्ता कसरी बढाउने जनताको सुख–दुःखमा कसरी साथ दिने भनेर दिनरात, भोक–प्यास नभनी खटेर लागेका छौँ । कार्यकर्ता आज तपाईहरुको अभिव्यक्तिले विचलित दिखिएका छन् । ‘तपाइले बर्षभरी खेतवारीमा पसिना बगाएर गरेको मिहेनत बाली उठाउने बेला अन्य व्यक्ति वा गलत व्यक्तिले लगिदियो भने तपाईलाई कस्तो महशुस हुन्छ ?’ हो, अहिले आम कार्यकर्ताको घाँटीमा छुरा हान्ने काम भएको देखिन्छ । आफु नजिकका व्यक्ति खुसी बनाएर हजुरका स्वार्थ त पूरा होलान् तर आम कार्यकर्तामाथि भने घात हुनेछ । उम्मेदवारी घोषणा गर्नु, कुनै व्यक्ति म यो पदमा लड़छु भन्नु कार्यकर्ताले दुःख गरेको परिश्रमको फल लिन खोजेका हुन् । तर, तपाईँहरू कार्यकर्ताको स्वतन्त्रतामाथि प्रतिबन्द लगाउँदै हुनुहुन्छ के यो जायज हो ।
निरंकुश नबन्नुस, नत्र हिजो राणा र आज तपाई बीच के फरक पाउने ? वडा, पालिका नेतृव छान्न कार्यकर्तालाई दिनुस्, ताकी काँग्रेस हौं भनेर छाती फुलाउन पाइयोस् ।
जय नेपाल ।
राममणि न्यौपाने
नेपाली काँग्रेस मकवानपुर प्रतिनिधसभा क्षेत्र नम्बर २ का सदस्य