हेटौंडा बजेट : एकीकृत बसपार्क निर्माण गर्न १५ करोड

अखबार हब
२०७९ असार १२, आईतवार १९:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेकपा एमालेले बहिष्कार गरेपश्चात् असार १० गते बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो बैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

प्रस्तुत बजेटमा उपमहानगरले हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा बस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमेयर राजेश बानियाँका अनुसार हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ, डाक्टर पढाउनका लागि मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*