थाहा नगरको जनकल्याण माविले प्रथम शैक्षिक मेला गर्ने

अखबार हब
२०७९ असार २७, सोमबार २०:०२

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्याण माविले ‘प्रथम जनकल्याण शैक्षिक मेला–२०७९’ आयोजना गर्ने भएको छ ।

जनकल्याण माविको व्यवस्थापनमा थाहा नगर भित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित शैक्षिक मेला आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए ।

थाहा नगरमा रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मीहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले नगर भित्रका विद्यालयहरु बीच शैक्षिक गुणस्तर मापन, विद्यालयको क्षमता विकास र शैक्षिक ज्ञान आदानप्रदान गर्नका लागि शैक्षिक मेला फलदायी हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले यही असार ३० र ३१ गते जनकल्याण माविको प्राङ्गणमा हुने शैक्षिक मेलामा सहभागी हुन थाहानगरका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायत सरोकारवालाहरुलाई आग्रह गरे ।

एसइइ दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि बिषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरि नगर भित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताए ।

शैक्षिक मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा बिज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले बताए । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिने समेत जानकारी दिए ।

मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, विद्यार्थीको सीप परीक्षण, निशुल्क माटो परीक्षण सिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएको छ ।

२०२५ सालमा स्थापना भएको थाहा नगरको अग्रणी शैक्षिक संस्था जनकल्याण माविमा हाल बिज्ञान, बालि विज्ञान (कक्षा ९–१२),व्यवस्थापन, शिक्षा, मानविकी र कृषि बिषयको तीन बर्षे स्नातक तहको अध्ययन अध्यापन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*