मकवानपुरमा डायलाइसिस सकसपूर्ण
मकवानपुर । मकवानपुरमा मृगौलासम्बन्धि समस्या भएका बिरामीका लागि डायलाइसिस सेवा सकसपूर्ण छ ।
पर्याप्त डायलाइसिस मेसिन नहुँदा मकवानपुरका मृगौलासम्बन्धि समस्या भएका बिरामीहरुले सहजै डायलाइसिस सेवा पाएका छैनन् । सरकारीस्तरमा हेटौंडा अस्पताल र निजी क्षेत्रमा चुरेहिल हस्पिटलमा निःशुल्क डायलिइसिस सेवा संचालन भइरहेपनि पर्याप्त जनशक्ति र मेसिन नहुँदा डायलाइसिस सकसपूर्ण बनेको हो ।
मकवानपुरमा हाल डायलाइसिस आवश्यक पर्ने ५ सय ३७ जना विरामी छन् । तर, जिल्लामा ७८ जनाका लागि मात्र डायलाइसिस सेवा दिन सकिने संयन्त्र छ, जसका कारण ४ सय ५९ जना बिरामी जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । हेटौंडा अस्पतालको तथ्यांकअनुसार ५ सय ३७ जना मकवानपुरमा मृगौलासम्बन्धि बिरामीले डायलाइसिस गर्नुपर्ने देखिन्छ ।
हेटौंडा अस्पताल संचालन तथा विकास समिति सदस्य उत्सव चौलागाईंले मकवानपुरमा अझैपनि डायलाइसिस गराउने विरामीका लागि सहज नभएको बताए । उनले ५ सय ३७ जना बिरामी डायलाइसिस गराउनुपर्ने देखिएको र हाल ७८ जनाले मात्र सेवा पाइरहेकोले ठूलो संख्याका बिरामी हेटौंडामै डायलाइसिस सेवा लिनबाट बञ्चित हुनुपरेको प्रतिक्रिया दिए ।
समिति सदस्य चौलागाईंका अनुसार हेटौंडा अस्पतालमा हाल १० वटा मेसिनबाट सातामा ४५ जनाले सेवा लिइरहेका छन् । हेटौंडा अस्पतालमा गत असारबाट डायलाइसिस सुरु गरिएको हो । अस्पतालका लागि बहुर्राष्ट्रिय कम्पनी युनिलिभरले २, हेटौंडा उपमहानगरपालिकाले २, शिवम् सिमेन्टले १ र बागमती प्रदेश सरकारले ३ वटा मेसिन सहयोग गरेपछि डायलाइसिस संचालनमा ल्याइएको थियो ।
हाल अस्पतालमा ८ वटा मेसिन संचालित छ । थप २ वटा मेसिन आगामी भदौबाट संचालनमा ल्याउने र तीन सिफ्ट संचालन गर्ने तयारी रहेको चौलागाईंले बताए । मेसिनसँगै जनशक्तिको अभावका कारण पनि डायलाइसिस सेवा सकसपूर्ण बनेको अस्पतालको दाबी छ । २ जना एक जना नेफ्रोलोजीसहित ७ जना जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा १ जना नेफ्रोलोजीसहित पाँच जना मात्र जनशक्ति छन् ।
यसैगरी, चुरेहिलमा आरोग्य फाउण्डेसनले तीन वटा मेसिनबाट डायलाइसिस सेवा दिइरहेको छ । सातामा ३६ जनाको डायलाइसिस गरिने चुरेहिल हस्पिटलका अध्यक्ष कृष्ण कटुवालले बताए । उनले हस्पिटलले स्थानमात्र उपलब्ध गराएको र व्यवस्थापन मेसिन संचालन सबै आरोग्य फाउण्डेशनले गर्दै आएको अध्यक्ष कटुवालले जानकारी दिए ।