बचत फिर्ता नगर्ने हेटौंडाको जनचेतना स्वाबलम्बन सहकारीका सञ्चालक पक्राउ
मकवानपुर। बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगर्ने सहकारी सहकारी बचतकर्ताकै उजुरीपछि पक्राउ परेका छन् ।
मकवानपुरको हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीले दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुक सहित उजुरी दिएको बताउँदै अनुसन्धान कार्य भईरहेको बताए ।
भविष्यमा आइपर्ने आर्थिक समस्यालाई समाधान गर्ने उद्देश्यले सहकारीमा जम्मा गरेको बचत रकम सहकारी संचालक समितिले हिनामिना गरेपछि बचतकर्ता र कर्मचारीहरू तनाबमा परेका थिए । सहकारीको बचत रकम हिनामिना भएपछि बचत गर्ने बचतकर्ता र बचतकर्ताबाट नियमित पैसा सङ्कलन गर्ने कर्मचारीहरू तनाबमा परेका थिए ।
सहकारीमा बचत गर्दै आएका हेटौंडा– १८ की कमला बिडारी,हेटौंडा– २ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध २४ साउनमा संयुक्त जाहेरी दखास्त दिएका थिए । उनीहरूले आफूहरूको पैसा हिनामिना गरेको र फिर्ता गर्न माग गर्दा नदिएको भन्दै सहकारी सञ्चालक समितका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दिएका थिए ।
बचतकर्ताहरूले उजुरी गरेपछि प्रहरीले सहकारी संचालकलाई झिकाएको थियो । उजुरी परेपछि सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै २० साउनमा सटही हुने गरी सहकारीको कर्मचारीहरूको नाममा लाखौँ रकमको चेकसमेत काटेको थियो ।
सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहकरदेविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बाँनियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो ।
तर गएको २० साउनमा चेक सटही नभएपछि बचतकर्ताहरूले २४ साउनमा सहकारी संचालक समितिका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दरखास्त दिएका थिए । उजुरी परेपछि प्रहरीले मङ्गलबार ३१ साउनमा सहकारीका २ जनालाई पक्राउ गरेको हो । मङ्गलबार पनि सहकारीका १० जना बचतकर्ताहरूले पुनः अध्यक्ष र कोषाध्यक्षविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका छन् । सहकारीका थप बचतकर्ताहरुले अध्यक्ष र कोषाध्यक्षविरुद्ध आज पनि ठगी मुद्दामा जाहेरी दिने तयारी गरेको बचतकर्ताहरुले जनाएका छन् ।