यसकारण, कमल थापाले राजनीति छाडेनन्
मकवानपुर । कुनै समय नेपाली राजनीतिको ‘मुसो’ भनेर चिनिने नाम हो, कमल थापा । विशेषतः जनआन्दोलनपछि राजतन्त्रसहितको प्रजातन्त्र स्थापित हुनुपर्ने एजेण्डा लिएर राजनीतिमा सक्रिय थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षमा पराजित भएपछि राजतन्त्रको सवाल उठान गर्न छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरे । त्यसयता थापा निरन्तर पूर्वराजा ज्ञानेन्द्रबारे झोक्किदै पनि आएका छन् ।
थापाको पुरानै निर्वाचन क्षेत्र मकवानपुर १ बाट उनी प्रतिनिधिसभा सांसदको उम्मेदवार तयारीमा पनि छन् । नेकपा एमालेबीच तालमेल हुँदा उनी मकवानपुर १ बाट उम्मेदवार बन्ने सम्भावना पनि छ । चुनावी तयारीका लागि हेटौंडा आएका थापासँग हेटौंडा–६ हटिया स्थित उनको निवासमा गरिएको कुराकानीको अंश ।
मैले १६ बषको उमेरदेखि राजनीति सुरु गरेँ । विगत ५ दशकदेखि म राजनीतिमा सक्रिय छु । यसबीच धेरै पटक मन्त्री बनेँ । राजाकालदेखि गणतन्त्रसम्म सरकार बन्दाको स्थिति हेर्दा म सरकारमा थिएँ । म मात्र, होइन राप्रपा सरकारमा थियो भन्नु प¥यो ।
धेरै प्रकारका आक्रमणबाट मैले राजनीतिमा अझैपनि सक्रियता घटाउन सकेको छैन । उमेरले ६५ कटेपनि अझै जोश जाँगर र शारिरीक रुपमा केहि त्यस्तो कमजोरी छैन । राजनीतिक ज्ञानसँगै म अझैपनि खटेर जनतामाझ पुग्न र अडिग भएर बोल्न सक्छु भन्ने आँट छ । त्यस भएर पनि होला, राजनीतिक परिवर्तनसँग मेरा केहि एजेन्डाहरु पनि परिवर्तित छ ।
राजा शासनकालमा राजासँग नजिक रहेर काम गरेँ । मेरो एउटा मात्र सोच के थियो भने, नेपाललाई पूर्ण रुपमा सनातन हिन्दुहरुको बाहुल्यता कायम राख्दै हिन्दु राज्य बनाइनुपर्छ, यो सोच राजाको साथमा हुँदा राजतन्त्रका बेला पनि र गणतन्त्र आइसकेपछि पनि कायम थियो । अझ भनौ गणतन्त्रपछि मैले राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राज्य संवैधानिक रुपमै अघि बढाउन तत्कालीन राप्रपा नेपालको एजेण्डा बनाए । हामी यहि एजेन्डा लिएर चुनावमा होमिँदा २४ सीट समानुपातिकबाट ल्याएर २०७० को निर्वाचनमा चौथो ठूलो दल बन्यौं ।
राजनीतिबाट सन्यास लिने त्यो सोच
समय कालखण्ड, राजनीतिक परिवर्तन र जनताका इच्छा, आकांक्षा, मुलुक परिवर्तनको परिस्थिति सबैलाई मूल्यांकन गरेपछि २०७४ को निर्वाचनपछि संवैधानिक राजतन्त्रको एजेण्डालाई विस्तारै छाड्दै गएँ । म पहिले अध्यक्ष रहेको राप्रपामा अझै पनि त्यहि एजेण्डा छ । संवैधानिक राजतन्त्रको एजेण्डा अघि बढाउन अब आवश्यक नदेखेपछि मैले नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल’ गठन गरेँ ।
अहिले यो दलले सनातन हिन्दु राज्यको एजेण्डा लिएर हिडेको छ । त्यहि एजेण्डा स्थापनाका लागि मैले राजनीतिबाट सन्यास लिइन । मकवानपुर १ बाट तेस्रो पटकका रुपमा २०७४ को निर्वाचन हारेपछि म राजनीतिबाट सन्यास लिने सोचमा थिएँ । ५ दशकदेखि कति एउटै सोच विचारलाई स्थापित गर्न दौडधुप गर्नु, जुधामारि गर्नु, भन्ने लागेको थियो ।
अब सन्यास लिन्छु र आरामको जिन्दगी बिताउँछु भन्ने मैले सोचेकै हो । तर, सनातन हिन्दु राज्यकै एजेण्डा रुचाएर जनताले दिएको मतको कदर गर्दै यसलाई टुंगोमा पु¥याउनै पर्छ भन्ने सोचले नयाँ दलनै गठन गर्न म बाध्य भएँ । अहिले राप्रपा नेपालबाटै मेरो सोच पूरा गर्ने आँट गरेको छु । त्यस कारण अब मंसिर ४ को चुनाव मेरा लागि अन्तिम हुनेछ । यसपछि म फेरि चुनावी मैदानमा होमिने छैन । र, राजनीतिक जीवन ढल्किदै जानेछ । यस पटक राप्रपा नेपालको एजेण्डा स्थापित गराउन राष्ट्रिय दल बनाउन पाए, म राजनीतिबाट टाढै रहने थिएँ भन्ने सोच छ ।
तीन पटक एकै व्यक्तिसँग पराजित
राजनीतिका दुई धु्रव कम्न्युजम् र डेमोक्रेट मध्ये, डेमोक्र्याटिक धार समाएर निरन्तर राजनीतिमा सक्रिय हुँदा ५ पटकमध्ये २ पटक मात्र मैले चुनाव जितेको छु ।
३ पटक मकवानपुर क्षेत्र नम्बर १ बाटै हारेको छु । त्यो पनि एउटै पार्टी नेकपा एमाले एकै व्यक्ति कृष्ण दाहालसँग हारे । जनताले विश्वास गर्दा जितेँ, जनताले नरुचाउँदा हारे । तर, निर्वाचनमा हारेपनि मैले मकवानपुरको समग्र विकासमा कदापी समस्या आउन दिइन् । म सरकारमा हुँदा पहिलो प्राथमिकता मकवानपुर बन्ने गथ्र्यो ।
प्रदेश राजधानी घोषणाको सम्झना
शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो, म उपप्रधानमन्त्री थिएँ । प्रदेश राजधानी तोक्न मन्त्रिपरिषद्को बैठक बस्यो । केहि घण्टा बैठक बसेपछि ६ वटा प्रदेशको राजधानी करिब–करिब टुंगियो । तर, तत्कालीन प्रदेश ३ को राजधानी टुंगो लगाउन सकिएन । काँग्रेसका मन्त्रीहरुले भक्तपुर राजधानी बनाउने प्रस्ताव गर्नुभयो । प्रधानमन्त्री ज्यू, पनि त्यसमा राजी हुने मुडमा हुनुहुन्थ्यो तर, म अटसमटस भइन् ।
प्रदेश ३ को राजधानी कुनैपनि हालतमा हेटौंडा हुनुपर्ने भन्दै मैले दजनौं कारण बताएँ । तर, पनि काँग्रेसका मन्त्रीहरुले विरोध जनाउनु भयो । उहाँहरुले हेटौंडा अपायक पर्छ, ९ घण्टा लाग्छ हेटौंडा पुग्न, बाटो खराब, संरचना नभएको भन्दै अडिग हुनुभयो ।
त्यसपछि मन्त्रिपरिषद् बैठक रोकियो । प्रधानमन्त्री ज्यूले गोप्य छलफलका लागि मलाई डाक्नु भयो । र, मलाई राजी गराउन उहाँले एक प्रदेश प्रमुख राप्रपालाई दिने प्रस्ताव ल्याउनु भयो । हेटौंडा राजधानी वा एक प्रदेश प्रमुख तपाईंलाई भन्दा मैले प्रदेश प्रमुख चाहिँदैन हेटौंडा राजधानी भन्दा म पछि हट्नेवाला छैन । बरु सरकार छाड भने छाड्नसमेत तयार छु भनेपछि उहाँले ल हेटौंडा राजधानी तोकौं भन्दै मन्त्रिपरिषद् बैठकमा आफैले घोषणा गरिदिनु भयो ।