ढाका बुनाई सिकाएर महिलालाई स्वरोजगार बनाउँदै इन्द्रसरोबर

अखबार हब
२०८० असार १८, सोमबार १३:१५

मकवानपुर । ढाकाको कपडा तयार गर्न सिकाएर जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकाले स्थानीय महिलालाई स्वरोजगार बनाउँदैछ ।

गाउँघरमै कृषि र गृहणी काम गर्दै आएका ६ जना महिलालाई गाउँपालिकाले तीन महिनासम्म ढाकाको कपडा बनाउन सिकाएको हो । इन्द्रसरोबर–२, स्थित भालुखर्कमा ६ जना महिलाको समूहलाई गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत् तालिम दिइएको थियो ।

तालिमको आइतबार गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाले समापन गरेकी छन् । तालिम पश्चात उपाध्यक्ष प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत् महिलाहरुलाई कपडा बुन्ने तान सहयोग गरिएको छ ।

३ महिनासम्म निरन्तर प्रतिव्यक्ति ४७ हजार खर्च गरेर ढाकाको कपडा बुनाई सीप सिकाएर स्थानीय महिलालाई व्यवसायिक बन्न आइतबार १ लाख ४७ हजारको चार वटा तान (कपडा बुन्ने मेसिन) उपलब्ध गराइएको उपाध्यक्ष लामाले जानकारी दिइन् । ‘महिलाहरुलाई स्वरोजगार बनाउन भनेर तालिम मात्रै दिएर पुग्दैन् । प्रविधि पनि सहयोग गर्नुपर्छ भनेर तान दिएका हौं । सीप र मेसिन भएपछि उहाँहरुले अब कपडा बुनेर व्यवसायिक बन्न सक्नुहुन्छ ।,’ लामाले भनिन् ।

समूहले उत्पादन गरेको ढाकाको कपडा बजारिकरणका लागि गाउँपालिकाले नै सहयोग गर्ने उपाध्यक्ष लामाको भनाई छ । महिलाहरुले तीन महिनासम्म तालिम सिकेर ढाकाको चोली, गलबन्दी, मफलर, कुर्ता, सुरुवाल, सललगायतका थुप्रै प्रकारका कपडा तयार पार्न सक्ने भएका छन् । ‘अब उहाँहरुलाई सीप भन्दा पनि बजारिकरणको आवश्यकता छ । हेटौंडादेखि काठमाडौंसम्म उत्पादित कपडा बिक्रीका लागि गाउँपालिका र अन्य निकायसँग समन्वय र सहकार्य गर्छौ ।,’ लामाले भनिन् ।

उत्पादित कपडाको फिनिसिङ पनि धेरै राम्रो आएको उनले बताइन् । लामाले ६ जना महिला समूहलाई मात्र नभई स्वरोजगार बन्न चाहने गाउँका महिलाहरुलाई सीप र प्रविधि सहयोग गर्न ‘उपाध्यक्ष प्रविधि हस्तान्तरण कार्यक्रम’ कार्यान्वयनमा ल्याएकी हुन् । महिलाहरुले तालिम लिए सीप सिकेता पनि प्रविधि नहुँदा व्यवसाय सञ्चालन गर्न नसकेको देखेपछि उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको उपाध्यक्ष लामाको भनाई छ ।

इन्द्रसरोबर गाउँपालिकाले तालिमलाई व्यवहारमा लागू गर्नका लागि एउटा नियम पनि बनाएको छ । कुनैपनि समूह वा सामाजिक संस्थालाई स्वरोजगार बनाउने उद्देश्यले गरेको लगानी व्यवहारमा नदेखिए लगानी फिर्ता लिनेसम्मको नीति अपनाउने उपाध्यक्ष लामा बताउँछिन् । ढाका बुनाई तालिममा सिताकुमारी किङरिङले प्रशिक्षण दिएकी थिइन् । समापन कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्की, वडा सदस्य इन्दिरा थिङलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*