शैक्षिक क्षेत्रमा फड्को मार्दै हेटौंडा नगर

रवीन ढुङ्गाना
२०८० श्रावण ४, बिहीबार २०:०८

मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा पछिल्लो वर्षहरु शैक्षिक क्षेत्रको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । विषेश गरी तराईका जिल्लाहरुबाट यहाँ अध्ययन गर्न आउनेहरुको गन्तव्य बनेको हो ।

सलार्ही मंलवा घर भएर हेटौंडा बस्दै आएका धिरज पटेल कक्षा ८ देखि अहिले कक्षा १० मा राष्ट्रिय आधुनिक माध्यमिक विद्यालयमा अध्ययनरत छन् । यस विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट भएर आफ्नो परिवारले अध्ययनको लागि यहाँ ल्याएको भनाइ छ । उनले एसईईपछिको उच्च शिक्षा पनि हेटौंडामा बसेर अध्ययन गर्ने सोच रहेको उनले सुनाए ।

यस्तै, हेटौंडा–४ को हेटौंडा क्याम्पसमा वाणिज्य संकाय लिएर कक्षा १२ मा अध्ययनरत रौतहट चन्द्रपुरका शैलेन्द्र यादव पछिल्लो दुई वर्षदेखि यहाँ अध्ययन गरिरहेको बताउँछन् । उनी स्नातक र स्नाकोत्तर पनि यहाँ नै गरेर आफ्नो अध्यन पूरा गर्ने योजना रहेको बताउँछन् । अहिले हेटौंडा उच्च शिक्षामा शिक्षा संकाय, व्यस्थापन संकाय, मानविकी संकायको स्नाकोत्तरसम्मको अध्यन हुन्छ । एक दशक अघिसम्म यी संकायमा स्नाकोत्तर अध्यन गर्न चाहने विद्यार्थीहरु काठमाडौं लगाएतका शहर केन्द्रीत हुनुपर्ने बाध्यता थियो । हेटौंडा उपमहानगरमा हाल एक दर्जन क्याम्पसहरुमा दुई हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन् । पछिल्लो समय प्राविधिक शिक्षा अध्यनका लागि जिल्ला भित्रका र बाहिरी जिल्लाका विद्यार्थीहरुको गन्तव्य पनि हेटौंडा बनेको छ ।

पछिल्लो एक दशकमा हेटौंडाको शैक्षिक भौतिक पूर्वाधारमा भएको परिवर्तनसँगै शिक्षिा क्षेत्रको गुणस्तरमा पनि परिवर्तन आएको छ ।

नेपालमा औपचारिक शिक्षाको इतिहास लामो भएपनि शिक्षामा परिवर्तन भएको धरै समय भएको छैन् । जंगबहादुर राणाले विसं १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय दरबार हाईस्कुल (अहिलेको भानु माध्यमिक विद्यालय) स्थापना गरेका थिए । तर, त्यो विद्यालय तत्तकालीन समयमा राजदरबारका सन्तान र राणा परिवार निकटका लागि मात्र थिए । यद्यपी २००७ प्रजातन्त्र आएपछि देशमा शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन भए । यसैक्रममा मकवानपुरको तत्तकालीन सदरमुकाम भीमफेदीमा २००४ सालमै महेन्द्र माध्यमिक विद्यालय स्थापना भएको थियो ।

त्यसपछि जिल्लाको हालको सदरमुकाम हेटौंडामा पनि औपचारिक शिक्षाको सुरुवात भएको थियो । विक्रम संवत् २०११ सालभन्दा अगाडि हेटौंडामा रहेको पिपलबोट वरपर केही झिँगटीका घरहरु रहेको त्यसैसाल चिसापानीगढी, भीमफेदी, धोर्सिङलगायतका बस्तीमा बाढी पहिरोले क्षति पु¥याएपश्चात हेटौंडा वरपरका घनाजङ्गल फँडानी गरी बस्ती बस्ने क्रम सुरु भई क्रमशः घरहरु बढेका स्थानीय अग्रजहरु बताउँछन् ।

विसं २०११ सालदेखि नै हेटौंडादेखि नारायणगढसम्मको बाटो खन्न र अमलेखगञ्जबाट हेटौंडासम्मको बाटो फराकिलो पार्न अमेरिकी सहयोग नियोगले काम थालनी गरेपछि र फँडानी गरिएका जंगलका रुखहरु चिर्न बिक्रम संवत् २०१३ मा ठुलो समिल स्थापना पश्चात् हेटौंडाको बस्ती विकास हुन थालेको हो ।

विशेष गरी बाटो खन्न आएका ज्यामीहरु, मिल सञ्चालन गर्ने कामदार र बाढीपहिरोबाट विस्थापित परिवारले समेत संवत् २०२७ सालमा स्वीकृति लिई केहीवर्ष सञ्चालन भएको समेत अभिलेखमा भेटिन्छ ।
हेटौंडाको शिक्षाको अवस्था हेर्दा संवत् २०२५ सालसम्म एसएलसी परीक्षा दिन यहाँका परीक्षार्थीहरु वीरगन्ज परीक्षा केन्द्रमा जानुपर्ने थियो भने पछि वि.स. २०३२ सालमा पहिलो पटक मकवानपुरमा एसएलसी परीक्षा केन्द्र तोकिएको र उक्त परीक्षाको केन्द्राध्यक्ष कमल थापा रहनु भएको जानकारहरू बताउँछन् ।

नयाँ शिक्षा थालनी हुनुपूर्व स्थापित भएका विद्यालयमा सरकारी तवरबाट सामान्य एकमुष्ट अनुदान प्रदान गर्ने र स्थानीय स्रोतसाधन प्रयोग गर्ने गरिन्थ्यो । प्रवीणता प्रमाणपत्र तहदेखि माथिल्लो तहको शिक्षा प्राप्त गर्ने सबालमा हेटौंडाबासीलाई संवत् २०३७ मा मकवानपुर बहुमुखी क्याम्पस स्थापना भएपछि अवसर प्राप्त हुन गएको थियो । तत्कालीन मकवानपुर बहुमुखी क्याम्पस आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको कक्षाकोठाबाट सुरुवात गरिएको थियो ।

उच्चशिक्षातर्फ फरेस्ट्री अध्ययन गर्न फरेस्ट्री क्याम्पस स्थापना भएपछि हेटौंडा भन्दा बाहिरका विद्यार्थीको पनि पठनपाठन हुने स्थलको रुपमा हेटौंडालाई चिनिन थालेको हो ।

राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८–०३२ कार्यान्वयनमा आएपछि शिक्षामा नयाँ ढङ्गले सुधार भएको भन्न सकिन्छ । उक्त योजनाले शिक्षाको उद्देश्य सहित संरचना पाठयक्रम, मूल्याङ्कन र शिक्षक व्यवस्थालगायत विविध विषयमा परिवर्तन ल्यायो । विद्यालय शिक्षामा सरकारी लगानी र व्यवस्थापनको जिम्मेवारी स्वीकार गरिनु शिक्षा क्षेत्रमा एउटा फड्को नै मान्न सकिन्छ ।

मकवानपुरको शिक्षा विकासको क्रमलाई हेर्दा संवत् २००४ देखि संवत् २०२८ सम्म शिक्षाको सुरुवाती समय, नयाँ शिक्षा योजनादेखि संवत् २०४६ सम्मको अवधिमा सामुदायिक विद्यालयसँगै अंग्रेजी शिक्षा र प्रतिस्पर्धाका लागि निजी विद्यालय स्थापना भएको र उच्चशिक्षाको लागि शिक्षकलाई रकम उपलब्ध गराउने प्रचलन थियो ।

तत्कालीन शिक्षामा नैतिक चरित्र अनुशासन, इमान्दारिता र राष्ट्रप्रेम महत्वपूर्ण पक्ष मानिएका थिए । विद्यालय स्थापना र काम गराइका हिसाबले हेर्दा दामनको जनकल्याण हाइस्कुलमा रुपचन्द्र विष्टले जुझारु चेतना भएका र स्वावलम्बी शिक्षा प्रदान गर्नु कदरयोग्य कार्य मान्न सकिने रहेछ भनेका थिए ।

शिक्षा प्राप्त गर्ने सबालमा पारिवारिक सहजतालाई पनि मूल रुपमा मानिएको थियो । कमजोर आर्थिक तथा सामाजिक अवस्था भएका परिवारका बालबालिकालाई शिक्षा प्राप्त गर्न कठिनाइ थियो । शिक्षा विकासको क्रममा तत्कालीन राष्ट्रिय शिक्षा पद्दतिको योजनालाई एउटा कोसेढुङ्गा मानिन्छ । उक्त योजनाले शिक्षालाई राज्यको दायित्वभित्र स्वीकार गरी त्यसै अनुसारका कार्यहरु अगाडि बढाई शैक्षिक संस्था स्थापना र विकास गरेको पाइन्छ ।

हेटौँडा नगरको विद्यमान अवस्था
शिक्षा विकास तथा समन्वय ईकाई तथा हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाबाट प्राप्त शैक्षिक तथ्याङ्क २०७९ अनुसार मकवानपुर जिल्लामा सामुदायिकतर्फ ५११ र संस्थागततर्फ ७३ गरी जम्मा ५८४ विद्यालय रहेकोमा हेटौंडा उपमहानगरपालिकाभित्र सामुदायिक ९० र संस्थागततर्फ ४७ गरी कूल १३७ विद्यालय सञ्चालनमा रहेका छन् ।

जिल्लामा कक्षा १२ सम्म अध्ययन गर्ने जम्मा १ लाख १८ हजार ७ सय २९ छात्रछात्रा रहेकोमा नगरभित्रका विद्यालयमा ५० हजार ३ सय ७४ छात्रछात्रा अध्ययनरत छन् । यसरी हेर्दा विद्यालय शिक्षामा जिल्लाको कुल विद्यार्थीको ४३ प्रतिशत हिस्सा हेटौंडा नगरका विद्यालयमा अध्ययन गरिरहेको अवस्था छ ।

त्यस्तैगरी, सामुदायिकतर्फ जिल्लामा कुल १ हजार ९ सय २८ शिक्षक दरबन्दीमध्ये हेटौंडा नगरभित्रका विद्यालयमा ८ सय ३ शिक्षक कार्यरत रहेका छन् । नगरका सबै विद्यालयमा करिब ३१ हजार विद्यार्थी रहेकोमा दोस्रो मधेश आन्दोलनपश्चात् मधेशका बारा, पर्सा र रौतहटका नागरिकको समेत रोजाइमा हेटौंडा नगरभित्रका शैक्षिक संस्थाहरु पर्न गएका छन् । हाल हेटौंडाका सामुदायिक तथा संस्थागत विद्यालयमा ३५ देखि ४० प्रतिशत विद्यार्थी छिमेकी जिल्लाका रहेका छन् ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले पनि शैक्षिक क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । हालै उपमहानगरले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ । उपमहानगरले नगरकै पुरानो विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा नमुना ज्ञान पार्क स्थल निर्माणदेखि बालबालिकालाई विद्यालय तथा उच्चशिक्षाको अग्रसरबाट वञ्चित हुन नदिन मेयर केयर कायक्रम ल्याउने तयारी गरेको छ ।

जसमा छात्रवृति, पोशाक, शैक्षिक सामग्री र बालिका शिक्षालाई प्राथमिकता दिन छात्रा साइकल सहयोग कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको उपमहानगरले जनाएको छ । यसैगरी उपमहानगरले कक्षा १ देखि ८ सम्मका बालबालिकालाई स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा लैजाने तयारी गरिरहेको नगरप्रमुख मीनाकुमारी लामाले बताउनु भएको छ । बालबालिकालाई व्यवाहारिक र सांस्कारिक बनाउन स्थानीय पाठ्यक्रममार्फत् जीवनोपयोगी शिक्षा कायक्रम ल्याइने जनाएको छ ।

दिवा खाजाले विद्यार्थीको कक्षा छोड्ने दर न्यून
कक्षा १ देखि ६ सम्मका बालबालिकाको लागि सरकारले दिवा खाजको ब्यवस्था गरेपछि मध्यान्तर पछाडिका कक्षा छोडेर घर जाने बालबालिकाको संख्या न्यून बनेको छ ।

निर्मल माविका प्रअ प्रबोध बिडारी भन्छन्–विद्यालयमा दिवाखाजाको ब्यवस्था भएपछि भोकाएका बालबालिका पढाई बीचैमा छोडेर घर जाने क्रम ज्यादै न्यून भएको छ । निर्मल माविमा ग्रामीण भेगका कतिपय बालबालिका बिहान भोकै विद्यालय आउने गरेका छन् ।

संघीय कार्यक्रम नगरको ७३ वटै विद्यालयमा प्रति विद्यार्थी १५ रुपैयाँ बराबरको दिवा खाजाको व्यवस्थापन गरिएको उपमहानगरले जनाएको छ ।

यसैगरी, नगरको २९ वटा माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरुको लागि सेनेटरी प्याड वितरण गरेको छ । सेनटरी प्याड कार्यक्रमले विद्यालयमा अध्यनरत छात्राहरुलाई महिनावारी हुँदा कक्षा छोडेर घरमै बस्नुपर्ने बाध्यताको कमी आएको अमर माविका प्रधानाध्यापक मालती उप्रेती बताउँनुहुन्छ । यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिएर अघि बढाउनु पर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*