डीनासहित मकवानपुरका ११ उम्मेदवारलाई आयोगको जरिवाना

अखबार हब
२०८० श्रावण १०, बुधबार १०:५१

मकवानपुर । महालक्ष्मी उपाध्याय ’डीना’सहित ११ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको छ ।

गत ४ मंसिरको प्रतिनिधि सभा र प्रदेशसाभा चुनावको खर्चको विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्दा मकवानपुरकी नेपाली कांग्रेस सहमहामन्त्री डीना पनि परेकी हुन् ।

मकवानपुरबाट प्रतिनिधित्व गर्ने शीर्ष नेतामध्ये कारबाहीमा पर्नेमा डीना हुन् । प्रतिनिधिसभाका १ हजार ३७ र प्रदेशसभाका १ हजार ३ सय ९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना लगाउने निर्णय आयोगले मंगलबार गरेको हो । डीना कांग्रेसबाट मकवानपुरका प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचन लडेकी थिइन् । उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भइन् ।

मकवानपुरबाट निर्वाचनमा उम्मेदवार बनेका डीनासँगै नेकपा(माले)का कृष्णप्रसाद दाहाल, जनसमाजवादी पार्टी नेपालका मनबहादुर दाहाल, स्वतन्त्र उम्मेदवार आइताराम तामाङ, सचेत नेपाली. पार्टीका पंचलाल तामाङ र नेकपा मालेका उद्धवप्रसाद अधिकारीलाई आयोगले जरिवान तोकेको हो ।

त्यस्तै प्रदेशसभा तर्फ नेपाली काँग्रेसका आनन्दराम पराजुली, काँग्रेसकै बागी उम्मेदवार खुशीलाल प्रजा, सचेत नेपाली पार्टीका सोमबहादुर योञ्जन,स्वतन्त्र उम्मेदवार कृष्ण केसीलाई जनही १५ हजारका दरले जरिवाना तोर्केको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुलुकमा सुशासन र कानुन पालनादेखि समग्र विकृतिहरु सुधारको प्रतिबद्धतासहित चुनावमा होमिएका नेताहरुले चुनावपछि भने आफ्नै प्रतिवद्धता बिर्संदा कारबाहीको भागिदार बनेका छन् ।

जरिवानासहितको कारबाहीसँगै आयोगले सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी आयोगलाई जानकारी गराउन पनि उम्मेदवारहरुलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश / जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*