मन्त्रिपरिषदले गरेका निर्णयहरू नै कार्यान्वयन नभएको प्रधानमन्त्रीको गुनासो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले भने ‘ मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ । यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु । प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर ( कार्ययोजना ) तयार गरी लागू गर्नुहोस्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तह माथिको सुपरीवेक्षकसमक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुहोस । ’
प्रधानमन्त्री दाहालले कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताए ।
‘‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच कार्यकारी कार्यालय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ । त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ। प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ ।’’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्यप्रगतिको समीक्षा गर्दा समस्याका चाङ पनि यथावतै रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सरकारी कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणलाई उपयोगी एवं नतिजामुलक र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नैपर्ने र आवश्यकता देखिएका बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहन गर्नुपर्ने पनि बताए ।