काम मिलाए बापत राक्सिराङ्गकी कर्मचारी सुवेक्षा ढकालले मागिन् एक लाख घुस !

राममणि न्यौपाने
२०८१ बैशाख ५, बुधबार २१:१८

मकवानपुर । मकवानपुरमा विकट मानिएको राक्सिराङ गाउँपालिकामा कार्यरत एक कर्मचारीले काम मिलाइदिए बापत एक लाख रुपैयाँ घुस रकम मागेका छन् ।

पालिकाको पशुपन्छि विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायी सँग एक लाख रुपैयाँ घुस रकम मागेकी हुन् ।

गत १९ मंसिरमा पालिकाको बार्षिक कार्यक्रम अनुसार पालिकामा सुचिकृत भएका कृषक, समुह, सहकारी र फर्महरुका लागि उन्नत जातको गाई(जर्सी) वितरण गर्न भन्दै खरिदका लागि सूचना जारी गरेको थियो । सूचनामा भनिए बमोजिम परेका कोटेशन मध्यबाट काम गर्न अनुमति पाएको बसाहा गाई फर्म हेटौंडा ३ का सञ्चालक सुजन न्यौपानेलाई कर्मचारी ढकालले हाकीमलाई दिनु पर्ने भन्दै एक लाख घुस रकम मागेको खुल्न आएको छ ।

उन्नत जातको गाई अनुदानमा कृषकलाई वितरण गर्ने पालिकाको कार्यक्रम बामोजिम वितरणको जिम्मा पाएको बसाहा गाई फर्मका सञ्चालक न्यौपानेले ७६ हजारको दरमा दश वटा गाई ११ फागुणमा पालिकालाई हस्तान्तरण गरेका थिए । उक्त गाई वितरणका लागि भन्दै पालिकाले ८ लाख बजेट बिनियोजन गरेको थियो ।

पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारी ढकालले बसाहा फर्मका सञ्चालक न्यौपानेलाई भेटेर, फोन सवांद साथै सामाजिक सञ्जालमा कुराकानी मार्फत प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला र सहायक लेखा अधिकृत सत्येन्द्र आयार्यलाई दिन पर्ने भन्दै घुस रकम मागेको खुल्न आएको हो । साथै ढकाललाई सोही रकम मध्यबाट न्यौपानेले बीस हजार रुपैयाँ राष्ट्रिय बाणिज्य बैंक हेटौंडा शाखाको चेक समेत दिई सकेको र उक्त रकम ढकालले प्राप्त गरेको बैंक विवरण अखबार हवले प्राप्त गरेको छ । साथै उनले बाँकी रकम समेत दिन पटक– पटक फर्म सञ्चालकलाई दवाव दिने गरेको खुलेको छ ।

बसाहा गाई फर्मका सञ्चालक सुजन न्यौपाने र पालिकाको पशुपन्छी विकास शाखाकी कर्मचारी सुवेक्षा ढकाल बीच समाजिक सञ्जाल ह्वाट्स्एपमा भएको कुराकानी…
सुजन – सन्चै हुनुहुन्छ ?
सुवेक्षा – सन्चै छु सर, अनि हजुर ?
सुजन – म्याम कति हालिदिउँ ?
सुवेक्षा – सबै हालिदिनस्, हाकीम सरले मलाई नै लिनु भन्नु भएको छ, अनि पछी लेखामा दिनु भन्नु भएको छ । त्यही गर्छु अनि ।
सुजन – मेरो पेपर पनि बनाउनु पर्ने थियो ।
सुवेक्षा – के को सर ?
सुजन – मैले गाउँपालिका सँग काम गरेको खुल्ने पेपर ।
सुवेक्षा – अँ हुन्छ म बनाई दिन्छु ।
सुजन – म्याम २० हजारको चेक पाउनु भयो ?
सुवेक्षा – उम् त्यो त पाएँ ।

उक्त गाई वितरणमा लागत सहभागिताको नाममा किसान बाट २२ हजार ५ सयको दरले २ लाख २५ हजार रुपैयाँ नगद समेत कर्मचारी ढकालले संकलन गरेकी छिन् । तर उक्त रकमको रसिद भने किसानले पाएका छैनन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले भने आफुलाई यस विषयमा जानकारी नभएको बताएका छन् । ‘मैले कसैलाई घुस रकम मागेको छैन, मेरो नाम विकाएर कसैले घुस रकम माग्छ भने सो विषयमा आवश्यक छानबिन गर्छु ।’ उनले भने ।

यस विषयमा कर्मचारी ढकालसँग कुरा गर्दा घुस रकम लिएको वा नलिएको भन्ने बारे कुनै जवाफ दिन नचाएको प्रतिकृया दिएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*