राक्सिराङ्ग घुस प्रकरण : कोरली गाई वितरण गरेर लैनाको बिल पास !

राममणि न्यौपाने
२०८१ बैशाख १७, सोमबार १९:२८

हेटौंडा । मकवानपुरको विकट मानिएको राक्सिराङ्ग गाउँपालिकाका किसानलाई वितरण गरिएको गाईको विषयमा थप नयाँ तथ्य फेला परेको छ ।

पालिकाको पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायीसँग एक लाख रुपैयाँ घुस रकम मागेको विषय ५ बैशाखमा अखबार हवले प्रकासन गरेको थियो ।  सोही गाई वितरण प्रकियामा पालिकाले थप अनियमितता गरेको खुल्न आएको छ ।

१९ मंसिरमा पालिकाको बार्षिक कार्यक्रम अनुसार पालिकामा सुचीकृत भएका कृषक, समुह, सहकारी र फर्महरुका लागि उन्नत जातको गाई(जर्सी) वितरण गर्न भन्दै खरिदका लागि सूचना जारी गरेको थियो । सूचनामा भनिएको मापदण्ड अनुसार किसानलाई वितरण गरिने गाई दुई बर्ष पूरा भएको र तीन वर्ष ननाघेको हुनु पर्ने र एक वेत ब्याएको २ देखि ३ महिनाको हुनु पर्ने छ  तर पालिकाले वितरण गरेका दश मध्य दुई वटा गाई कोरली रहेको पाइएको छ । वितरणको जिम्मा बसाहा गाई फार्म हेटौंडा– ३ ले पाएको थियो ।

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ निवासी किसान केशव लामाले भने अरुले लैना गाई पाए पनि आफूले भने कोरली पाएको बताए । पालिकाले लैना गाई दिने भनेता पनि आफूलाई भने कोरली गाई दिएको उनको भनाई छ । ‘फागुण पहिलो साता सहकारी माफर्त गाई मैले पाए तर गाई कोरली थियो, आज सम्म पनि ब्याएको छैन् ।’ उनले भने ।

साथै उनले गाई लिनको निम्ती पालिकामा लागत सहभागिताको नाममा २२ हजार ५ सय रुपैयाँ समेत बुझाएको तर त्यस बापतको कुनै पनि बिल भौचर नदिएको गुणासो गरे । लामालाई पालिकाले भर्याङकाली साना किसान सहकारी राक्सिराङ्ग – ३ को समन्वयमा गाई दिएको थियो ।

त्यस्तै अर्का किसान सरस्वती सुवेदीले पनि भर्याङकालीको समन्वयमा पालिकाले आफूलाई कोरली गाई दिएको बताइन्, तर उनले लिएको गाई भने वितरण गरिएको दुई हप्ता पछी ब्याएको छ । पालिकाले आफूहरुलाई लैना गाई दिने गरि गाई खरिदका लागि सूचना निकालेको बारे जानकारी नभएको बताईन् । ‘आफुले लैना गाई पाउछु भनेर थाहा थिएन, सर मिसहरुले जुन पठाउनु भयो सोही ल्याए ।’ उनले भनिन् । लामाले जस्तै गरि उनले पनि २२ हजार ५ सय पालिकामा बुझाएको तर त्यस बापतको कुनै पनि बिल भौचर नदिएको गुनासो गरिन् ।

पालिकाले किसानलाई दुग्ध उत्पादनसँग जोड्न भन्दै लैना गाई खरिदको कोटेशन आह्वान गरेको थियो तर किसानलाई भने कोरली गाई वितरण गरेको पाइएको हो । साथै बिना कुनै भौचर लागत सहभागिताको नाममा किसान बाट रकम असुल गरेर पालिकाले गाई वितरणको नाममा अनियमितता गरेको देखिन्छ ।

यस विषयमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले भने किसानहरुले आफू खुसि गाई छानेको प्रतिकृया दिएका छन् । गर्तौलाले हस्ताक्षर गरेको पालिकाको सूचनामा भने गाई ब्याएको २ देखि ३ महिना हुनु पर्ने प्रष्ट उल्लेख गरिएको छ ।

किसानबाट असुल गरिएको २ लाख २५ हजार गाएब ! थप खुलासा अर्को अंकमा ।

सम्बन्धित समाचार ।

काम मिलाए बापत राक्सिराङ्गकी कर्मचारी सुवेक्षा ढकालले मागिन् एक लाख घुस !

https://www.akhabarhub.com/2024/04/28185/

यसमा तपाइको मत

Your email address will not be published.


*