हेटौंडा उपमहानगरपालिकाले बढाएको करको विरोधमा मउवा संघले चरणबद्ध आन्दोलन गर्ने

अखबार हब
२०८१ श्रावण २८, सोमबार २१:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बृद्धि गरेको करको दरको विरोधमा मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

कर बृद्धिको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको घोषणाअघि आइतबार मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई राजश्व वृद्धि गर्ने निर्णयको प्रक्रियागत प्रतिलिपि माग गरेको थियो ।

कोभिड–१९ देखि निरन्तर व्यवसाय खस्कँदो अवस्था रहेका बेला सहयोग गर्नुपर्ने स्थानीय सरकारले करको दर बढाएर व्यवसायीलाई थप पीडा दिने काम गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

पाँच दिने आन्दोलनका कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघले उपमहानगरपालिका कार्यालयमा धर्ना दिनेदेखि व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकालाई बुझाउनेसम्मका कार्यक्रम घोषणा गरेको छ । पाँच दिने संघर्षका कार्यक्रमसँगै उद्योग वाणिज्य संघले व्यवसायीहरुको तर्फबाट सामूहिक रुपमा उपमहानगरपालिका विरुद्ध मुद्दा समेत दर्ता गराउने जनाएको छ ।

विरोध कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार बिहान राजनीतिक दलसम्वद्ध व्यावसायिक संघ, संस्थाका प्रतिनिधि र सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । सोमबार दिउँसो १२ बजे व्यापारीको भेला आयोजना गरेर आन्दोलनको आवश्यकता, औचित्य र व्यवसायीको साथ सहयोगका विषयमा जानकारी गराइएको थियो भने दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनको औचित्य, संघको धारणा र संघर्षका कार्यक्रमबारे जानकारी गराएको छ ।

दोस्रो दिन मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आव्हान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रियाको कार्यक्रम तय गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले जानकारी दिए ।

तेस्रो दिन बुधबार हेटौंडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णय विरुद्ध हस्ताक्षर संकलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो व्यानर राख्ने जनाइएको छ । चौथो दिन बिहिबार हेटौंडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने जनाएको छ ।

संघर्षको कार्यक्रमअन्तर्गत पाँचौं दिन शुक्रबार ¥यालीसहित व्यापार व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिकामा चावी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*