प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडामा

अखबार हब
२०८१ भाद्र २, आईतवार ०८:०९

हेटौंडा । एसिड आक्रमणका पीडितहरुको सत्य कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडा आइपुगेका छन् ।

रमित ढुंगाना फिल्म प्रडक्सद्वारा निर्मित ‘नमेटिने घाउ’ चलचित्रको प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिड पीडितहरुको तस्बिर राखिएको छ ।

शनिबार हेटौंडा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शन गरिने चलचित्रमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीलगायतको अभिनय रहेको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्माता रमिले यसअघि आफूले एसिड पीडित मुस्कान खातुनको बायोपिक ‘मुस्कान’ बनाउने तयारी रहेको थियो । तर, त्यसलाई स्थगित गरेर अन्य एसिड पीडितलाईसमेत समेटेर ‘नमेटिने घाउ’ निर्माण गरेको बताए ।

‘सुरुमा मुस्कान खातुनको घटनालाई मात्र लिएर फिल्म बनाउने सोच थियो । तर, बुझेदै जाँदा बाहिर समाजमा नआएका अन्य पीडितहरुलाई पनि भेटेपछि सबैको घटनालाई समेटेर फिल्म बनाएका हौं,’ रमितले भने ।

पटकथा लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर फिल्म लेखेको रमित बताउँछन् ।

गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

यो फिल्म रमितको डेब्यु निर्देशकीय फिल्म समेत हुनेछ भने निर्माणको रुपमा तेस्रो प्रोजेक्ट । यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए ।

यस फिल्मपश्चात् पृथ्वीनारायण शाहको बायोपिक फिल्म बनाउने र यसमा रमित आफैंले पृथ्वीनारायणको भूमिका निर्वाह गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*