क्वार्टरमा आगलागी भएपछि होटेलमा सरे मन्त्री ठकुरी
हेटौंडा । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको हेटौंडा–९ स्थित निवासमा आगलागी भएपछि होटेलमा सरेका छन् ।
मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सर्ट भएर आइतबार साँझ ७ बजेर ४० मिनेटमा आगलागी भएको थियो ।
मन्त्री ठकुरीले आफू निवासमा पुगेर आराम गर्दै गर्दा बिजुलीको स्विच बोर्डबाट स्पार्क भएको जनाए । मन्त्री ठकुरीले आगलागीबाट कार्पेट र केही इलेक्ट्रोनिक सामान जलेको बताए ।
आगलागीबाट इन्भर्टरको चार थान ब्याट्री, इन्भर्टरको पावर सप्लाई बक्स १ थान, इन्टरनेट राउटर १ थान, कार्पेट र गलैंचा, जिप्सन बोर्डमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रदेश सरकारले अहिलेसम्म हेटौंडामा स्थायी संरचना नबनाएकाले अन्य मन्त्री र सचिवहरू विभिन्न स्थानमा कोठा भाडामा लिएर बसेका छन् ।