बाढीपहिरो पीडितलाई सत्तारुढ सांसदको आधा महिनाको तलब

अखबार हब
२०८१ आश्विन १६, बुधबार ०८:२९

काठमाडौं । सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरोपीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् ।

दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट कट्टा हुने गरी १५ दिनको पारिश्रमिक सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको हकमा भने एक महिनाको पारिश्रमिक बराबरको रकम दिने निर्णय गरिसकेको छ ।

त्यसैगरि माओवादीका सांसदहरूले १० दिनको पारिश्रमिक बराबरको रकम उक्त राहत कोषमा दिने भएका छन् । पार्टीको संसदीय दलले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूले ७ दिनको पारिश्रमिक दिने निर्णय लिएका छन् ।

सत्तारूढ एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंमा फजुल र अनावश्यक खर्च नगरी बाढीपहिरोमा परेकाहरूका लागि सहयोग जुटाउन संसदीय दलको बैठकमा आग्रह गरेका छन् । सांसद एवं पूर्वमन्त्री पदम गिरीका अनुसार प्रधानमन्त्रीले बाढीपहिरोमा परेकाहरूको उद्धार, राहतमा लाग्न पार्टीका सम्पूर्ण कार्यकर्ताहरूले अपिलसमेत गरेका छन् ।

ओलीले सरकारले साधनस्रोतको अधिकतम प्रयोगबाट बाढीपहिरोमा परेकाहरूको उद्धार र राहतमा सरकारी संयन्त्र परिचालन भएको आफू बाढीपहिरो गएकै दिन अमेरिकाबाट हिँडेको जानकारी गराएका थिए । देशमा बाढीपहिरो जाँदा पनि प्रधानमन्त्रीले अमेरिका बसाइ नछोट्याएको भनेर आलोचना भइरहेका बेलामा उनले त्यसको प्रस्टीकरण दिँदै असोज १२ गते शनिबार नै आफू हिँडेको बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*