आज मकवानपुरको त्रिखण्डी, गढी र ऋषेश्वरमा मेला
हेटौंडा । हरिबोधनी एकादशीको दिन आज मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ ।
कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको दामोदरसँग विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक वर्षझैँ यस बर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा जात्रा लागेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका स्थित त्रिखण्डी मन्दिरमा विशेष मेला लागेको छ ।
हरिबोधिनी एकादशीको दिन आज बिहानैबाट त्रिखण्डी मन्दिरमा पूजा गर्ने भक्तजनहरुको भिडभाड रहेको छ ।मेलामा मकवानपुर भित्रका विभिन्न क्षेत्रका सहित आसपासका जिल्लाहरुबाट समेत सयौं भक्तजनहरु आईपुगेका छन् ।
त्रिभुवन राजपथको हेटौंडा काठमाडौं छोटोदुरीको सडकखण्डमा त्रिखण्डी मन्दिर पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था मिलाइएको छ । त्रिखण्डी सहित मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा रहेको गढी दरबार र थाहा नगरपालिका स्थित ऋषेश्वर मन्दिरमा एकादशीको विशेष मेला लाग्ने गरेको छ ।