हेटौंडामा सडक खाना महोत्सव हुने
हेटौंडा । हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसनले चारदिने सडक खाना महोत्सवको आयोजना गर्ने लागेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा आगामी पुष १३ गते देखि चार दिन सम्म सडक खाना महोत्सव हुने विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा खानाका पारखीहरुलाई पौराणिक देखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरुको साँस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उदेश्य रहेको अध्यक्ष दिलिस गोविन्द जोशिले बताए ।
करिब ४० वटा स्टलहरु राखिने महोत्सवमा सुरक्षा निकाय र आवश्यक स्वयमसेवक परिचालन, सुरक्षाको व्यवस्थापन, आवश्यक शौचालयको व्यवस्था, फोहोर व्यवस्थापन लगायतका व्यवस्थापन हुने आयोजकले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न करिब १४ लाख ५० हजार रुपैँया खर्च हुने बताइएको छ । महोत्सवलाई ४० हजार खानाका पारखीले अवलोकन गर्ने अनुमान गरिएको छ ।