देशकै पुरानो र मौलिक संस्कृति भजन तथा चुड्का : प्रदेश प्रमुख देवकोटा
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले देशकै पुरानो र मौलिक संस्कृति भजन तथा चुड्का भएकाे बताएका छन् ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालकाे केन्द्रीय बार्षिक साधारणसभा तथा बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा उनले यस्तो बताएका हुन् ।
देशको पुरानो र मौलिक संस्कृतिको रूपमा रहेको भजन तथा चुड्काको जगेर्नामा अहोरात्र खटिने मौलिक संस्कृति उथ्थानको पहरेदार संस्थाको कार्यक्रममा उपस्थिति हुन पाउँदा गौरवको महसुस भएको प्रदेश प्रमुखले बताए । ‘२०६७ सालदेखि तपाईंहरू अनवरतरूपमा मौलिक एबम् लोपोन्मुख बाजागाजासङ्गै भजन संस्कृतिको संरक्षणमा लागिरहनुभएको छ’ उनले भने ‘माटाे र संस्कृति एक सिक्काको दुई पाटासरह हुन् । त्यसैले तपाईंहरुको कामको प्रसंशा जति गरेपनि कम हुन्छ, देशको असली राष्ट्रप्रेमी लोक भजन चुड्का संरक्षण प्रतिष्ठान रहेकाे छ ।’
‘भनिन्छ कुनै देशलाई ध्वस्त पार्नुछ भने उसको संस्कृतिबाट धावा बोल्न शुरु गरे हुन्छ’ उनले भने । ‘आफ्नो मौलिक पहिचान गुमाउँदै गर्दा हामी न घरको न घाटको बन्न पुग्छौं देवकाेटाले भने ‘आयातित सस्कृतिको अन्धनक्कलले हाम्रो मौलिक पहिचानलाई कुहिरोमा रुमल्ल्याएको छ ।’ हामीले यसबाट आफूलाई र युवा पुस्तालाई जोगाउनु पर्ने उनकाे भनाई थियाे । ‘विश्वब्यापीकरणको अर्थ आफ्नो मौलिक पहिचानलाई तिलान्जली दिनु कदापि होइन । हामीले बिबिधताको सम्मान गर्दै आफ्नो मन , मस्तिष्क र मुटुमा आफ्नो मौलिक पहिचानलाई सजाउनुपर्छ’ उनले भने । आखिर यो मन त नेपाली नै हो , होइन र ? भन्दैं उने प्रश्न गरे ।
हाम्रा सत्तल , पाटी, पूजापाठ, चाडपर्व, धार्मिक सास्कृतिक कार्यक्रम शंख, मुजुरा, खैजडीजस्ता थुप्रै बाद्ययन्त्रको ध्वनिसहित् भजन चुड्का गुन्जायमान हुँदा माहोल रमाइलो हुने उनले बताए । ‘भजन चुड्कामा यस्तो जीबन्तता छ जसले हामीलाई शान्त, उत्प्रेरित, संस्कारी, सभ्य र सकारात्मक बनाउँछ’ उनले भने ‘यसमा सन्देश छ, अनुशासन छ, मेलमिलाप छ, कर्तव्य छ र सौन्दर्यता छ । सङ्गीतले मान्छेलाई जोड्छ र सुखी जिवनको आधार तयार पार्दछ ।’
प्रदेश प्रमुख देवकाेटाले हामीले आफूद्वारा आफैंलाई जोगाउनुपर्ने बताए । भजन चुड्कामा रहेको बिशिष्टतालाई जीवनयापनको साथी बनाउनु पर्ने उनले बताए । ‘सुख र दुःखको साथी हाम्रो भजन चुड्का लगायत मौलिक संस्कृतिको संरक्षणमा राज्यका निकायहरू, संस्थाहरू, नागरिक समाज तथा हरेक तह र तप्काका ब्यक्तिहरू एकजुट भएर लाग्नुपर्छ’ उनले भने । धार्मिक तथा जुनसुकै सास्कृतिक कार्यक्रमहरूमा भजन, चुड्कालाई अनिबार्य समावेश गरिनु पर्ने तथा यसको व्यापक प्रचारप्रसार गर्नु पर्ने उनले बताए । ‘धार्मिक होस् वा अन्य अवसरमा मौलिक बाजासहित सुरिलो स्वरमा भजन चुड्काको प्रस्तुतिले वरपरको बाताबरणनै रौनकताले गुन्जिन्छ’ उनले भने ‘हाम्रा भजन, चुड्काहरू रोगनाशक औषधिसरह हाम्रो शरीर र मनलाई आरोग्य प्रदान गर्छन् ।’
प्रदेश प्रमुखले राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद खनाल “लेकाली ” लगायतकाे समूहलाई मौलिक सस्कृती जगेर्नाको अभियानमा गरिएका उत्कृष्ट कार्यकाे बधाई दिदै अभियान निरन्तरताको शुभकामना दिएका छन् । यो महाअभियानमा आफ्नाे पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट भजन चुड्का र बाद्यबाजनको बेजोड प्रस्तुति रहेको थियो भने इन्द्रेणी कार्यक्रमका कृष्ण कंडेललगायतलाई सम्मान समेत गरिएको प्रतिष्ठानाका अध्यक्ष नारायण प्रसाद खनाल ‘लेकाली’ ले जानकारी दिए ।