कार्यकर्ताकाे कुरा सुन्दै कांग्रेस क्षेत्रीय समिति

अखबार हब
२०८१ पुष २६, शुक्रबार १९:५७

हेटाैंडा । पार्टीकाे माथिल्लाे नेतृत्व र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीबारेकाे सुझाव तथा आगामी कार्यदिशाका बारेमा  छलफल गर्न नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ले क्रियाशील जागरण तथा अन्तरसंवाद सुरु गरेकाे छ । क्षेत्रीय समितिले मकवानपुरकाे कैलाश गाउँपालिकाबाट उक्त कार्यक्रमकाे सुरुवात गरेकाे हाे ।

क्षेत्रीय समितिले शुक्रबार कैलाश गाउँपालिकास्तरीय क्रियाशील भेला तथा अन्तरसंवाद कार्यक्रम आयाेजना गरेकाे छ । कार्यक्रममा नेताका भाषण भन्दा पनि कार्यकर्ताका भावना र आगामी दिनमा अझै परिस्कृत रुपमा गरिने कार्यक्रमबारे सुझाव लिने र गुनासा भए सुनेर सम्बाेधन गर्ने उद्धेश्यले कार्यक्रम सुरु गरिएकाे नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का सभापति लाेकबहादुर मुक्तानले जानकारी दिए । क्षेत्र नम्बर २ भित्र पर्ने सबै ८ वटा स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरिने मुक्तानले बताए ।

शुक्रबार कैलाश ३ स्थित कालिकाटारमा आयाेजित कार्यक्रममा करिब २ दर्जन क्रियाशील कार्यकर्ताले निर्वाचित जनप्रतिनिधि र पार्टीका नेतृत्वका गतिविधि र आगामी कामका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले आम जनताकाे हितमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जाेड दिए । आम कार्यकर्ताकाे भावनालाई पार्टीकाे नेतृत्वले  समेट्नुपर्ने उनले बताए ।

कार्यक्रमकाे उद्धेश्यबारे बाेल्दै पार्टी क्षेत्रीय सभापति लाेकबहादुर मुक्तानले पार्टीका नेतृत्व र जनप्रतिनिधिले गरिरहेका काममा सहयाेग गर्नुपर्नेमा जाेड दिँदै कुनै गुनासा भए आन्तरिक रुपमा छलफल गर्नुपर्ने बताए । सबै एकजुट भए मात्रै सबै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने उनकाे भनाइ थियाे ।

नेपाली कांग्रेस कैलाश गाउँपालिकाका सभापति राजेन्द्र घिसिङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टी बागमती प्रदेश सभापति बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेती, पार्टी जिल्ला सदस्य उदास भ्लाेन, कैलाश गाउँपालिकाका उपसभापति मानबहादुर वाइबालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कैलाश गाउँपालिकाका भित्रका क्रियाशील सदस्य, पार्टीका विभिन्न तहका पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिलगायतकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*