मकवानपुरका सञ्चारकर्मीको गुनासो,राज्यबाट सुरक्षाको प्रत्याभूति भएन

अखबार हब
२०८१ माघ ६, आईतवार २१:२६

हेटौंडा । मकवानपुरका सञ्चारकर्मीले राज्यबाट सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकका समस्या तथा चूनौति विषयक छलफल कार्यक्रममा सहभागि सञ्चारकर्मीले निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण नरहेको गुनासो गरेका हुन् ।

समाचारका विषयमा राजनीतिक दलबाटै गलत कार्यको पक्षपोषण हुने, अनियमितता, भ्रष्टाचारका विषयमा उठान गर्दा मानसिक दबाब खेप्नुपर्ने अवस्था रहेको सञ्चारकर्मीले बताएका छन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नहुँदा मानव अधिकार रक्षकको अग्रपङ्तिमा रहने पत्रकारले नै असुरक्षा महसुस गर्नुपरेको बताउँदै पत्रकारको पेशागत सुरक्षाप्रति सरकार गम्भिर बन्नुपर्ने आवश्यकता औल्याइएको छ ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले समाचार लेखेकै कारण पत्रकार जेलसम्म जानुपर्ने अवस्था आउनु दुखद रहेको बताएका छन् । सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहालले सञ्चारगृहले अझैपनि महिला पत्रकारका क्षमतामा प्रश्न उठाउने गरेको बताईन् ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख पवन कुमार भट्ट, मानव अधिकार अधिकृत कृष्ण प्रसाद मिश्र, केन्द्रिय प्रतिनिधि, मकवानपुरका क्रियाशिल सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*