हेटौंडाका दुई ठुला विद्यालय मर्ज गर्न सिग्देलको नेतृत्वमा कार्यदल

अखबार हब
२०८१ माघ ७, सोमबार १९:३८

हेटौंडा । हेटौंडाका दुई पुराना र ठुला सामुदायिक विद्यालय एकीकरण(मर्ज) गर्ने प्रक्रियामा लैजान कार्यदल गठन गरिएको छ ।

भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माविलाई एकीकरण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो ।

भुटनदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष सिग्देल संयोजकत्वको कार्यदलको सहसंयोजकमा आधुनिक राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहमद समिम रहनुभएको छ । सदस्य सचिवमा हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका हरिषचन्द्र सापकोटा, सदस्यहरुमा भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, कार्यपालिका सदस्य जुना दाहाल र इश्वरी रसाइली रहेका छन् ।

कार्यदलको स्थायी आमन्त्रीत सदस्यमा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, विज्ञ सल्लाहकार कृष्ण प्रसाद धिताल र कानूनी शाखाका लक्ष्मण मैनाली रहेका छन् ।

कार्यदलले माघ मसान्त सम्ममा दुबै विद्यालयको भौतिक विवरण, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत विवराण संकलन गरि प्रारभ्भिक प्रतिवेदन बुझाउने कार्यदलका संयोजक सिग्देलले बताए । आगामी बैशाखबाट मेगा विद्यालय सञ्चालन गर्ने गरि कार्यदल अघि बढेको उनको भनाई छ ।

आधुनिकमा करिब २८ सय बालबालिका र भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् । नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका माविमा करिब ८ हजार विद्यार्थी रहेका बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*