भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ । भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ । रासस