दोब्बर बढ्यो खाने तेलको मुल्य

अखबार हब
२०७८ आश्विन ५, मंगलवार ०९:४४

हेटौँडा । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको हो । नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ ।

यो तथ्याङ्क २०७६ जेठ ३१ देखि गएको भदौ १० गतेसम्मको हो । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपैयाँ भएको छ । यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ बढेको छ । यस्तै २०७६ जेठ ३१ गते प्रतिलिटर भुटेको तोरीको तेल २२० भएकोमा गएको भदौ १० गते प्रतिलिटर ३६० रुपैयाँ पुगेको छ । अहिले भुुटेको तोरीको तेल प्रतिलिटर ३९० रुपैयाँ छ भने काँचो तोरीको तेल, सनफ्लावर, भटमासको तेलमा प्रतिलिटरमा १० देखि २० रुपैयाँ बढेको छ ।

सङ्घका अनुसार २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपैयाँ, भएकोमा गएको गएको भदौ १० गतेसम्म तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपैयाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपैयाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ बढेको छ ।

२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुुगमनपश्चात बारामा रहेका दुई तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले तीन/तीन लाख रुपैयाँ जरिवाना गर्दै मूल्य घटाउन निर्देशनसमेत दिएको थियो । विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरेको थियो ।

विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिए पनि उद्योगीले पत्रमा मात्र घटाएको तर उपभोक्ताले घटेको अनुभव गर्न नपाएको खुद्रा व्यापारीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*